काठमाडौं,२८ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम सरकारमा सहभागी हुने भएका छन्।
केहीबेरपछि दुवै दलले नेकपा एकीकृत समाजवादीको नेतृत्वको सरकारीमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाउने कार्यक्रम छ। त्यसअघि दुवै दलको संसदीय दलको बैठक बस्नेछ।
यसैबीच सुदूर सरकारमा पठाउने तीनमन्त्रीको नाम नेकपा एमालेले टुंग्याएको छ । एमालेले संसदीय दलका प्रमुख सचतेक सुरेन्द्र पाल, सांसदहरु हिरा सार्की र वीरबहादुर थापालाई मन्त्रीमा पठाउने निर्णय गरेको छ ।
पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने छन् । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन ।
एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको छ । माओवादीको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले तीन मन्त्रीको नाम टुंगो लगाउनेछ ।
यता सोडारीलाई विश्वासको मत दिएका स्वतन्त्र सांसद डा ताराप्रसाद जोशीलाई पनि सरकारमा लाने तयारी भएको छ । उनले पनि मन्त्रीको रुपमा आजै शपथ लिनेछन् । यसअघि सुदूर सरकारमा नाउपाका २ जना मन्त्री छन् । आज ७ जना मन्त्री थपिएमा प्रदेश सरकार १० सदस्यीय बन्नेछ ।