Logo

नेसपाका सांसद भन्दै फणिन्द्र देवकोटाले विश्वासको मत दिए राजनीतिक प्रतिवाद गर्ने खगराजको चेतावनी



काठमाडौं,२८ जेठ । नेकपा एमालेका सांसद तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटालाई विश्वासको मत दिलाउन लगाए राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको प्रस्तावमाथि बोल्दै अधिकारीले देवकोटालाई ललाई फकाई गरेर विश्वासको मत दिलाउन लागेको हो कि भन्ने शंका उत्पन्न भएको बताए । उनले ०५१ सालमा मनमोहन अधिकारीको सरकार ढलेपछि भएका राजनीतिक विकृतिहरु गण्डकीमा दोहोरिन लागेको हो कि भन्ने शंका उत्पन्न भएको बताए ।

गण्डकीमा ६० सदस्यीय प्रदेश सभा छ । मुख्यमन्त्री रहेको दल नेपाली कांग्रेससँग २७ सांसद छ् । उनलाई विश्वासको मत पुर्याउन ३१ जनाको समर्थन चाहिन्छ । उनलाई २ सीट भएको राप्रपाले समर्थन गरेको छ ।

राप्रपाकै समर्थन भयो भने पनि कांग्रेसलाई दुईजना सांसद अझै अपुग हुन्छ।

स्वतन्त्र सांसद दीपक मनाङेले सार्वजनिक रुपमै मध्यावधिमा जान नदिने र जसले ३० जनाको समर्थन जुटाउँछ आफू उतै लागेर ३१ अर्थात् बहुमत पुर्‍याइदिने बताउँदै आएका छन्।

सोमबारको बैठकमा मनाङे विपक्षीकै बेञ्चमा बसेका छन्।

मनाङेले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्यसमेत रहेका फणिन्द्र देवकोटाको समर्थन हो।

तर, उनी पनि आजको बैठकमा विपक्षी बेन्चमै बसेका छन्। उनीहरू दुवैको मत पाउन पाण्डेलाई जरुरी छ।



प्रतिक्रिया दिनुहोस्