काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत भएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएका हुन् ।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचन पश्चात मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए । मोदीको शपथ ग्रहण समारोहमा नेपालसहित विभिन्न देशका प्रधानमन्त्री, राष्ट्रपति र उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग वान टू वान संवाद गरेका थिए । साथै, उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।