Logo

गण्डकी सरकार जोगाउन ‘हर्ताकर्ता’ बनेका देवकोटा र मनाङेलाई मन्त्री पद ‘उपहार’



काठमाडौं,२९ जेठ । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणिन्द्र देवकोटा र दिपक मनाङेलाई आज मन्त्री नियुक्त गरेका हुन् । मनाङे भौतिक पूर्वाधार मन्त्री बन्दा देवकोटालाई उर्जा, जलस्रोतको जिम्मा दिईएको छ ।

सोमबार माओवादी केन्द्रको चुनाव चिह्न हँसिया(हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। सोहीबापत उनले मन्त्री पद उपहार पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, राप्रपाले तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।

यससँगै मनाङे छैटौँपटक मन्त्री बनेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुईपटक मन्त्री बनिसकेका छन् । सुरुमा सुरेन्द्रराज पाण्डे अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे सरकार ढलेपछि पनि मनाङे खगराज अधिकारी सरकारमा सोही मन्त्रालयमा दोहोरिए ।

यसअघि उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा २ पटक र कृष्णचन्द्र नेपालीको पालामा एकपटक गरि ३ पटक युवा तथा खेलकुदमन्त्री भईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्