Logo

सर्वोच्चको न्यायाधीश बन्न महान्यायाधिवक्ताबाट राजीनामा दिँदै पोखरेल



काठमाडौं,३१ जेठ । न्याय परिषद् बैठक आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा तय गरिएको छ ।

सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीशको पद रिक्त छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई भोलिबाट अनिवार्य अवकासमा जाने भएपछि मुद्दाको चापलाई ध्यानमा राखेर परिषद्ले आजै न्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको छ ।

यसैबीच सर्वोच्चको न्यायाधीश बन्ने भएपछि महान्यायाधीवक्ता डा दीनमणि पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । उच्च स्रोतका अनुसार पोखरेलले आजै पदबाट राजीनामा दिने तयारी गरेको बालुवाटार स्रोतको दाबी छ ।

न्याय परिषद्को बैठक र राजीनामाबारे पोखरेलले बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै २ घण्टालामो छलफल गरेका थिए ।

सर्वोच्चमा हाल ४ वटा कोटा रिक्त छ । परिषद्ले माओवादी केन्द्रको तर्फबाट पोखरेललाई पठाएर अन्य तीन जना भने उच्च अदालतका न्यायाधीशलाई पठाउन खोजेको छ ।

चार न्यायाधीशका लागि यसपटक कानून व्यवसायीबाट एकजना र अन्य तीन न्याय सेवाकै व्यक्ति छानिने सम्भावना छ । कानून व्यवसायीबाट महान्यायाधिवक्ता पोखरेल एक नम्बर दाबेदार हुन् ।

यसअघि नै न्यायाधीश नियुक्तिका लागि नाम गएर पनि वरिष्ठ अधिवक्ता नभएको भनेर ईश्वर खतिवडाले अडान लिएका कारण पोखरेल रोकिएका थिए । यसपटक फुलकोर्टमा पेश भएका वरिष्ठ अधिवक्ता उपाधि पाउनेको सूची पोखरेल पनि छन् ।

पोखरेल न्यायाधीश भए भने ३ वर्ष प्रधान न्यायाधीश बन्ने भएकाले उनलाई रोक्न न्याय सेवाकै उच्च अधिकृतदेखि न्यायाधीशहरू पनि लागेका छन् ।

तर, सत्तारुढ दल नेकपा एमालेले पनि एक जना आफ्नो भागमा पर्नुपर्ने भन्दै निरन्तर लबिङ गर्दै आएको छ । एमालेबाट वरिष्ठ अधिवक्ता इश्वरीप्रसाद भट्टराई र महेश पौडेलको चर्चा छ । यता पूर्व महान्यायाधीवक्तासमेत रहेका रमेश बडालले पनि सर्वोच्च जाने इच्छा राख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्