Logo

सबै पदको टुंगो सहमतिबाट लगाउने भन्दै उपेन्द्रले रोके निर्वाचन प्रक्रिया



काठमाडौं,३१ जेठ । जनता समाजवादी पार्टी नेपालको जारी महाधिवेशनमा सबै पदमा सहमतिबाट टुंगो लाग्ने भएको छ । ३ दिनदेखि जनकपुरमा जारी महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव सर्वसम्म भएका छन् । तर, अन्य सबै कुनैपनि पदमा सहमति नभएपछि बुधबार मनोनयन दर्ता भएको थियो ।

बुधबार मनोनयन दर्ता भएपनि आज पार्टी अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै निर्वाचन प्रकृया स्थगित गराएका हुन् ।

महाधिवेशनअन्तर्गत निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । एउटा सह-अध्यक्षका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । तर सह-अध्यक्षसहित सबै पद सहमतिमा टुंगो गरिने भएको छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो । अब यी सबै पदमा सर्वसम्मतिले नेतृत्व तय गरिने भएको छ । त्यो काम आजै सकेर महाधिवेशन पनि अन्त्य गर्ने तयारी जसपाको छ ।



प्रतिक्रिया दिनुहोस्