Logo

‘तेरो मान्छे पक्रिदासम्म ठीक, मेरो मान्छे पक्रिन भएन भन्नुभएन’



काठमाडौं, ३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियता, परराष्ट्र सम्बन्ध, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र सुशासनका बारेमा राष्ट्रिय सहमतिको कायम गर्न आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) डीआर पौडेलको पाँचौं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले न्यूनतम राष्ट्रिय सहमति आजको आवश्यत्ता रहेको बताएका हुन् । मन्त्री श्रेष्ठले वर्तमान सरकारको एकसुत्रीय नारा सुशान, समृद्धि र सामाजिक न्याय रहेको पनि उनले बताए ।

सबै राजनीतिक दल र सरोकारवालाहरु सोही नारामा केन्द्रीत हुन आवश्यक रहेको पनि उनले बताए । सत्तापक्ष वा प्रतिपक्ष जोसुकैले पनि भाषण गर्दा ‘विकास र समृद्धि आजको प्रमुख आवश्यत्ता’ भनेपनि सुशासनको सवालमा अरुका मान्छे पक्रिँदा ठीक र आफ्नो मान्छे पक्रिँदा बेठीकको व्यवहार गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

पूर्व गृहमन्त्रीसमेत रहेका परराष्ट्रमन्त्री श्रेष्ठले नेता, पावरवाला मान्छे र कर्मचारीहरुलाई कुनै कसुरमा पक्रिन सजिलो नरहेको बताए । उनले हरेकलाई पक्रिँदा दवाब आउने प्रष्ट पारे । मन्त्री श्रेष्ठले भने, ‘तेरो मान्छे पक्रिदासम्म ठीक छ, मेरो मान्छे पक्रिन भएन भन्नुभएन । भ्रष्टाचारको काण्ड अर्काको भए उझिन, मेरो भए छोप भन्नुभएन । मलाई त कहिले काहीँ त जालै जाग्छ । एकदम ठूला–ठूला राजनीतिक नेताहरु परे, पावरफूल मान्छेहरु परे भने राजनीतिक पार्टीका नेताहरुले कराउँछन्, खबरदार त्यहाँ हात हाल्ने हो ? भन्छन् । ठूल्ठूला कर्मचारीहरु परे भने कर्मचारीहरु कराउँछन् । हड्ताल गर्छौं हामी, डीजीलाई पक्रिने ? सचिवलाई पक्रिने भन्छन् । त्यसपछि राज्यलाई प्रभावमा पारेर दलालहरुले कब्जा गरिराखेका छन् नेपाललाई आर्थिक रुपमा । तिनीहरुमाथि हान्न लाग्यो भने ल अर्थतन्त्र ध्वस्त पार्न खोजेको ? सिध्याउन खोजेको ? भन्छन् । अनि कसलाई कारबाही गर्न जाने सुशासन स्थापित गर्न ?’

सडक पेटीमा पसल राखेर जीविकोपार्जन गर्ने सुकुमवासी, मजदुर र गरिबलाई मात्रै पक्रिएर देश नबन्ने उनको भनाइ छ । ‘सडक पेटीमा पसल राखिराखेका सुकुमबासी, मजदुर, गरिब तिनलाई हो ? अहिलेसम्म देश लुटेको तिनैले हो भन्न जाने ? यो कल्चर हुँदासम्म देश बन्न त गाह्रो छ नि । त्यस कारणले म सबैलाई अपिल गर्न चाहन्छु । सुशासन स्थापित गर्न न्यूनतम् एकता हुनुपर्यो,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्