Logo

सदनमा कांग्रेसले खोज्यो प्रधानमन्त्री, लेखकले सोधे: तपाईं डराएर भाग्न खोज्नुभएको हो ?



काठमाडौं,३२ जेठ । प्रमुख प्रपिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं सदनबाट भागेको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी नगराएर प्रचण्ड सदनबाट डराएर भागेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भने र। पाँच दिनसम्म यहाँ आउन सक्नुभएन ।’

 लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो। हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ। मैले के विश्वास गरौँ हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?’

प्रचण्ड हालै भारत भ्रमणबाट फर्किएका हुन् । नरेन्द्र मोदीले भारतका प्रधानमन्त्रीमा शपथ लिँदा प्रचण्ड सो समारोहमा सहभागी हुन नयाँ दिल्ली गएका थिए ।



प्रतिक्रिया दिनुहोस्