Logo

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाईने, १८७८ प्रतिनिधि सहभागी हुने



काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ ।

शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशिका जारी गर्दै प्यानल बनाएर चुनाव लड्न राक लगाउने उल्लेख गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समुह बनाएर निर्वाचन लड्न पाइने छैन्’ अपानिमा भनिएको छ ।

त्यस्तै महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

अपानि अनुसार, भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर बनेको नयाँ दल हो । यद्यपी उसले आफू एमालेकै रुप भन्दै एकैपटक आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन गर्दैछ । एमालेबाट सम्मानजनक हिस्सा लिएर बाहिरिएपनि पछिल्ला दिनमा एसलाई आफ्नो अस्तित्व जोगाउन धौंधौं परेको छ । अधिकांश कार्यकर्ताहरु पुरानै घर फर्किँदै जाँदा यस महाधिवेशनले नयाँ गोरेटो कोर्नुपर्ने बाध्यतामा नेकपा एकीकृत समाजवादी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्