काठमाडौं,२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले अर्थमन्त्री वर्षमान पुनले आफूहरुलाई फोन गरि-गरि योजना माग गरेको तर, अन्तिममा झुक्याएको बताएकी छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले भनिन् ‘अर्थमन्त्रीज्यू तपाईले हामी सांसदलाई फोन गरिगरि योजना माग गर्नुभयो । हामीले योजना पनि दियौं । तर, अन्तिममा बजेट दिनु भएन् । राजनीतिक पूर्वाग्रह राखुनु भयो । यो ठीक भएन’ ।
सांसद कार्कीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भारतमा बनन् लागेको मन्दिरलाई समेत बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाईन् । उनले मन्त्री तामाङलाई कासीवास जान लाग्नुभएको हो भन्दै प्रश्न गरिन् । ‘बजेटको पेज नम्बर १२ को ५७५ मा भारतको उत्तर प्रदेशस्थित ललिता घाट वाराणासीस्थित साम्राज्यस्वर पशुपति महादेव मन्दिर परिसरको वृद्धाआश्रम तथा धर्मशाला निर्माण गर्ने भन्ने शिर्षकमा ६५ लाख रुपैंया विनियोजन भएको छ । चारतमा कति पैसा दिनुभयो ? तपाईले धेरै पैसा दिनु भएको जस्तो छ । मलाई त के लाग्न थाल्यो भने हाम्रा पर्यटनमन्त्रीज्यू पछि वृद्धाआश्रममा बस्न कासीवास जानुहुन्छ’ उनले भनिन् ।
सांसद कार्कीले वाराणासीमा हाल्ने बजेट नेपालकै देवघाटमा हालेको भए हुने बताईन् ।