काठमाडौं,३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटबारे सत्तारुढ दल नेकपा एमालेले असन्तुष्टि व्यक्त गरेको कुरा वास्तविक नभएको दाबी गरेका छन् ।
सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताए ।
‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्युमर (अफवाह)हरूमा सत्यता छैन,’ उनले भने।
उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।
गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८१८२ को विनियोजित बजेटलाई लिएर सत्तारुढ दलभित्रै तीव्र असन्तुष्टि देखिएको छ । एमालेसहित रास्वपा र एकीकृत समाजवादीले त सार्वजनिक रुपमा नै आलोचना गरिरहेका छन् भने माओवादीमा पनि बजेटलाई लिएर असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ ।
रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन्।
‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’