Logo

प्रहरीको धरपकडबाट घाइते भएका कवाड व्यवसायीहरुको उपचारको व्यवस्था मिलाउन प्रभु साहको माग



काठमाडौं, ५ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले कवाड व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताएका हुन् । उनले हरेक नेपालीले कानुनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने बताए ।

सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौं महानगरपालिकाले डोजर आतङ्क मच्चाएपछि कवाड व्यवसायीहरु आन्दोलित हुनुपरेको उनले बताए । अध्यक्ष साहले सुरक्षाको प्रत्याभूत गराउनुपर्ने प्रहरीले निरिह व्यक्तिमाथि प्रहार गरेको भन्दै आपत्ति जनाए ।

‘हिजो कवाड व्यवसायीहरुको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । झण्डै ५० जनाजति, एक दर्जन त गम्भीर घाइते छन् । टाउको फुटेको छ, उनीहरु वीर अस्पतालमा भर्ना भएका छन् । यसरी संवैधानिक हक देशको राजधानीमा उल्लङ्घन भइराख्दा गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो ? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस् । सम्मानित अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतङ्क गरेको छ,’– उनले भने ।

कवाड व्यवासायीको आन्दोलनमा भएको प्रहरी दमन र धरपकडलाई सामान्य रुपमा लिन नहुने बताए । उनले प्रहरीको धरपकडबाट घाइते भएका ककवाड व्यवसायीको उपचारको जिम्मा राज्यले लिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्