Logo

‘लाज,शरम केहीपनि नभएका महासेठलाई उपप्रधानमन्त्री बनाउने एमालेलाई हार्दिक बधाई’



काठमाडौं,५ असार । भौतिक पूर्वाधार मन्त्रालयले गरेको बजेट विनियोजनप्रति बुधबार बसेको प्रतिनिधि सभा बैठकमा पनि सांसदहरुले आक्रोश पोख्न छाडेका छैनन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले बजेटमाथि जथाभावी कैची चलाएको भन्दै आपत्तिसँगै आक्रोश पोखेका छन् ।

सांसद घिमिरेले उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बजेटमा मनलाग्दी गरेको भन्दै उनलाई मन्त्री बनाउने दल नेकपा एमालेलाई बधाई दिएका छन् । ‘भौतिक मन्त्री उहाँ इन्जिनियर हुनुहुन्छ, बडो सम्पन्न र समृद्ध मान्छे हुनुहुन्छ । योग्य पनि भएरै एमालेले उहाँको नेतृत्वमा उपप्रधानमन्त्री दिएर सरकारमा पठाएको होला,’ सांसद घिमिरेले अगाडि भने,‘उपप्रधानमन्त्री सहित र सरकारको नेतृत्व गरेर पठाउने नेकपा एमालेलाई मेरो हार्दिक बधाई छ ।’

सांसद घिमिरेले मन्त्री महासेठलाई लाज, शरम केही पनि नभएको र शून्यतामा रमाउने मान्छे भन्दै टिप्पणी गरेका छन् । उनले भने, ‘लाज हुन्छ, शरम हुन्छ, धर्म हुन्छ, म राष्ट्रको मन्त्री हुँ भन्ने गर्व हुन्छ मान्छेलाई । कतै पनि केही नभएको शून्यतामा बाँचेको मान्छेलाई उपप्रधान र सरकारको नेतृत्व गरेर पठाउने नेकपा एमालेलाई मेरो हार्दिक बधाई छ ।’

मंगलबार बसेको बैठकमा पनि मन्त्री महासेठले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस्