Logo

विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गर्नु नौलो कुरा होईन, आवश्यक्ता पर्यो भने पार्टी अध्यक्ष बन्नुहुन्छः ऋषिकेश पोखरेल



काठमाडौं, ६ असार । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किनुलाई कुनै आश्चर्य मान्न नहुने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराष्ट्रपति भण्डारी एमालेकै राजनीतिक प्रतिनिधि रहेको बताए । उनले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेपनि र नगरेपनि उनी एमालेकै नेता रहेको दाबी गरे ।

‘विद्यादेवी भण्डारी राजनीतिक प्रतिनिधि नै हो । राजनीतिक प्रतिनिधि भएकाले, नेकपा (एमाले) का उपाध्यक्ष भएकाले, अनेमसंघको लामो आन्दोलनसँग जोडिएको महिला नेतृ भएका हुनाले नै राजनीतिक प्रतिनिधित्वको हिसाबका उहाँ मुलुकको राष्ट्रपति हुनभएको हो । के विद्या भण्डारी राजनीतिक प्रतिनिधि होईन ? उहाँ नेकपा (एमाले) सँग संवद्ध हुनुहुन्छ भन्नलाई कुनै आश्चर्यको विषय हो ?’ प्रश्न गर्दै उनले भने, ‘विद्यादेवी भण्डारीले नेपालको समग्र हितमा नेकपा (एमाले) को विचारबाट यो मुलुकलाई बदल्नुपर्छ भन्ने सोच्नु कुनै आश्चर्यको कुरा हो ? राष्ट्रपति हुनु भनेको कुनै राजनीतिक विचार, दृष्टिकोण, कार्यक्रमहरुमा कुनैमा नअडिनु हो र ?’

विद्यादेवी भण्डारीले एमालेमा गरेको योगदानकै आधारमा उनलाई देशको प्रथम महिला राष्ट्रपति बनाइएको उनले बताए । मुलुकको आवश्यत्ता, एमालेको आवश्यत्ता र कार्यकर्ताको चाहनाका आधारमा विद्यादेवी भण्डारी पार्टी अध्यक्ष हुनसक्ने उनले बताए ।

‘यो मुलुकलाई म नेता भएर योगदान गर्छु भनेर विद्यादेवी भण्डारीले भन्नुभयो र एमालेलाई आवश्यत्ता पर्यो भने के हुन्छ र ? कुनै समस्याको विषय हो र ? आवश्यत्ता पर्यो, परिस्थितिले हामीलाई त्यहाँ पुर्यायो भने विद्यादेवी भण्डारीलाई एमालेको नेता बन्न कसले रोक्छ र ?’ प्रश्न गर्दै उनले भने, ‘विद्यादेवी भण्डारीले यो विचारलाई नेतृत्व गर्न सक्छु भनेर आउनुभयो भने, एमालेले आवश्यत्ता ठान्यो भने, कार्यकर्ताले त्यो विषयलाई आजको आवश्यत्ता हो ठाने भने विद्यादेवी भण्डारी एमालेको नेता हुन, उहाँ एमालेको नेता नै हो नि । विद्यादेवी भण्डारी एमालेको नेता हो । सदस्यता नवीकरण गर्नुभयो, भएन के आवश्यत्ता छ र ?’



प्रतिक्रिया दिनुहोस्