Logo

प्रधानमन्त्रीलाई सांसद गैरेको प्रश्नः तपाईँको घोषणापत्रको उपहास भएको बजेट समर्थन गर्नुहुन्छ कि विरोध ?



काठमाडौं, ६ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तपाईँको घोषणापत्रको उपहास भएको बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ? भनी प्रश्न गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारले तीन करोडभन्दा कम बजेट विनियोजन नगर्ने घोषणा गरेपनि सहरी विकास मन्त्रालयको बजेट दुई लाख, एक लाख र हजारमा समेत विनियोजन भएको भन्दै उक्त प्रश्न गरेका हुन् ।

आज (बिहीबार) प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई सांसद गैरेले ‘प्रधानमन्त्रीज्यू यहाँले संविधानको मर्म र भावनाअनुरूप संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारले कुनै पनि योजना ३ करोडभन्दा कम बजेट योजनामा विनियोजन नगर्ने घोषणा गर्नुभएको थियो । तर बजेटमा सहरी विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालयहरूले हजारौँ योजनाहरू ५ लाख, २ लाख, १ लाखका र केही योजनाहरू हजारमा समेत विनियोजन गरेको छ । यसरी बजेट विनियोजन गर्दा तपाइँको घोषणापत्र उपहास भएन र ? यस्तो काम गर्ने मन्त्रीज्यूहरूलाई पुरस्कृत गर्नुहुन्छ वा के ? अब तपाईँ प्रस्तुत बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ? अथवा सच्याउन निर्देशन दिनुहुन्छ ? जान्न चाहन्छु ।’

सांसद गैरैको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजनाहरू सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरूमा कम रकम विनियोजन गरिएको बताए । उनले यस प्रकारका आयोजनाहरु प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी गराए ।

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरूबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने बिषयमा सरकार दृढ रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्