Logo

आफ्ना सांसदहरुलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन



काठमाडौं, ७ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई बजेट निर्णयार्थ प्रस्तुत नहुँदासम्म आफ्ना सांसदहरुलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेक प्रतिनिधि सभाको आगामी बैठकमा पेश नहुन्जेलसम्म अनिवार्य रुपमा उपस्थित हुन ह्वीप जारी भएको बताए ।

‘अब ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकहरुमा विनियोजन विधेक निणयार्थ प्रस्तुत नहुँदासम्मका लागि सबै माननिय सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलको बैठकले निर्देश गरेको छ,’– नेता लेखकले भने ।

साथै, कांग्रेसले बजेटका सन्दर्भमा पोजिसन के राख्ने भन्ने कुरा त्यसैबेला निर्णय गर्ने पनि नेता लेखकले बताए । नेता लेखकले प्रतिपक्षमा रहेको कांग्रेसले जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताका विषयहरुलाई अलि सघन ढंगले संसद्मा उठाउनुपर्ने बताए । उनले पछिल्ला बैठकहरुमा कांग्रेसका सांसदहरु कम उपस्थित हुँदा ती विषयले अलि कम महत्व पाएको पनि बताए । उनले आजको बैठकले संसदमा देश र जनताको बारेमा निरन्तर आवाज उठाउन पनि निर्देशन गरेको बताए ।

बजेट विनियोजन अपरिपक्व, असन्तुलित र पूर्वाग्रहपूर्ण रहेको उनले बताए । बजेटबारे सत्तारुढ दलकै सांसदहरुले कुरा उठाएको उनले स्मरण गराए । मन्त्रालयगत विनियोजन बेठीक रहेको उनले बताए । बजेट भन्दा बाहेकका समसामयिक विषयमा पनि कांग्रेसले क्रियाशीलतापूर्वक विषय उठाउने पनि उनले बताए ।

नेता लेखकले कांग्रेसले सहकारीका बारेमा विषय उठाएर नै संसदीय समिति बनेको बताए । संसदीय समिति बनेको उक्त सहकारीको विषयमा आज कुनै छलफल र निर्णय नभएको उनले प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्