Logo

गृहमन्त्री लामिछानेले भनेको कुरा जनताले उल्टो बुझ्न थालेः रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकार रहे वा नरहे पनि बजेट जनताको पक्षमा हुनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बजेट आवश्यक्ताको आधारमा वितरण हुनुपर्ने बताएका हुन् । बजेट संसद्को नभएर मन्त्रीको मात्रै जस्तो देखिएको बताए । सिंगो प्रदेशको बजेट सात अर्ब हुँदा धनुषा जिल्लाको मात्रै बजेट आठ अर्ब विनियोजन गरिएको बताए ।

साथै, महिला बालबालिका मन्त्री भगवती चौधरीले ९३ वटा योजनाका लागि आफ्नै जिल्लामा बजेट विनियोजन गरेको उनले बताए । आगामी वर्षदेखि बजेटलाई संशोधन गरेर पास गर्ने नीतिको सुरुवात गरिनुपर्ने उनले बताए । बजेटमा कमा र फुलस्टपसमेत परिवर्तन गर्न हुँदैन भन्ने मनोवृत्ति चेन्ज गर्न आवश्यक रहेको उनले बताए ।

सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय विशेष समितिले जोसुकै दोषी भएपनि कारबाहीको दायरामा ल्याउन सिफारिस गर्ने बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उक्त सहकारी ठगी प्रकरणको कार्यादेश (टीओआर) मा नलेखिएपनि सिम्बोल नम्बर लेखिएको बताए ।

‘नाम नभएपनि सिम्बोल नम्बर छ भन्ने कुरा आइसकेको छ । गलत गरेको छ भने पद र शक्तिमा बसेकाहरु जोगिने पवृत्ति हुँदैन । संसदीय छानविन समितिले तेरो मेरो नभनी कारबाहीको लागि सिफारिस गर्छ । बदमास गर्नेहरु जुनसुकै ठाउँमा भएपनि कारबाहीको दायरामा आउँछन्,’– उनले भने ।

पहिला–पहिला गृहमन्त्री लामिछानेले जे भनेपनि जनताले हो कि भनेर पत्याउने गरेपनि अहिले जनताले उल्टो बुझ्ने गरेको बताए । ‘रविजीले जे भनेपनि होला कि, गर्छ कि भन्थे । अब त रविजीले जे भनेपनि उल्टो र हाँसिमजाकमा लिन थाले,’– उनले भने ।

गृहमन्त्री लामिछानेले गिरीबन्धु, यती, ओम्नीलगायतका विषयमा चुइँक्क नबोलेको उनको आरोप छ । गृहमन्त्री लामिछाने होईन दुई वटा राजदूत दिनुस् म चुप लागिहाल्छु भन्ने गरेको उनको टिप्पणी छ ।

वर्तमान सरकार ढाल्न कांग्रेस लाग्नै नपर्ने उनको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कटाक्ष हेर्दा वर्तमान सरकार लामो समय नजाने उनले बताए ।

संसद्मा प्रधानमन्त्रीमाथिको विश्वास कम हुँदै गएको पनि उनले बताए । प्रधानमन्त्रीमाथि विश्वास कम भएकै कारण संसद्मा १६ जना सांसदले प्रश्न सोध्नुपर्नेमा त्यो भन्दा कमले प्रश्न गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्