Logo

आदर्श क्षेत्रीसहित चार अभियन्तालाई नियोजित रुपमा गिरफ्तार गरिएको परिवारको दाबी, विनाशर्त तत्काल रिहाइको माग



काठमाडौं, ८ असार । भ्रष्टाचार विरोधी अभियन्ता आदर्श क्षेत्रीकी आमा सकुन्तला बस्नेतले आफ्नो छोरालाई नियोजित रुपमा झुठा मुद्दामा फसाइएको आरोप लगाएकी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो छोरा आदर्शसहित राजु सुनार, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको बताएकी हुन् । उनीहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखिएको पनि सकुन्तलाले बताईन् । गिरफ्तार गरिएको

आदर्शकै पहलमा नेपाल मेडिकल कलेजको पार्किङ निःशुल्क बनेको र बुद्ध एकेडेमीको जग्गा मिलेमतोमा विक्री हुनबाट जोगिएको उनको दाबी छ । भ्रष्टाचार विरोधी अभियानमा लागेको छोरालाई झुठा आरोप लगाएर पक्राउ गरिएको उनले बताईन् । ‘राजनीतिक प्रतिशोधका आधारमा नियोजित रुपमा मेरो छोरा आदर्श क्षेत्रीलाई झुठा आरोप लगाएर प्रहरी बृत्त बौद्धमा राखिएको छ,’– उनले भनिन् । उनले आफ्नो छोरा आदर्शसहित पक्राउ परेको चारै जनालाई विना शर्त रिहाइ गरिनुपर्ने बताईन् ।

पक्राउ परेका राजु सुनुवारकी दिदी सविनाले उनीहरुले राम्रो काम गर्दै आएको बताईन् । सूचना माग्दा पूर्वाग्रही रुपमा गिरफ्तार गरिएको उनको आरोप छ । ‘उहाँहरुले गरेको काम राम्रो थियो । आजसम्म जति गर्नुभयो उहाँहरुले समाजलाई रुपान्तरण गर्न सचेत गरिरहनुभएको थियो । सूचनाको हक सबैले लिन पाउनुपर्ने हो । उहाँहरुलाई किन गिरफ्तार गरियो थाहा भएन,’– उनले भनिन् ।

आदर्शकी दिदी आकृतिले उनीहरुलाई सुनियोजित रुपमा फसाइएको दाबी गरिन् । उनीहरुले घुुस मागेको भन्ने कुनै प्रमाण नै नरहेको उनले जिकिर गरिन् ।

त्यस्तै, वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले सूचनाको हक र समाजिक रुपमान्तरणका लागि काम गर्ने सोसियल एक्टिभिष्टहरुलाई गलत नियतका साथ पक्राउ गरेको देखिएको बताए । उनले नेपालकोे संविधानको धारा २७ ले सूचनाको हकलाई प्रत्याभूत गरेको बताउँदै उनले कुनै पनि नागरिकलाई सार्वजनिक सरोकारको सूचना माग्न पाउने हक दिएको बताए ।

उनले सूचना माग्न गएको कारण झुठा मुद्दामा फसाइन नहुने बताए । पक्राउ परेका ती युवाहरुलाई तत्काल रिहाइ गरिनुपर्ने र कुनै पनि झुठा मुद्दा लगाइन नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्