Logo

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान हुँदैनः महामन्त्री थापा



काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा राखेका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) ले आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ”, उनले भने ।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको बताए । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उनले भने ।

उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गराए । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उनले भने ।

उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । “प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले भने । उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्