Logo

आन्दोलनरत संसदका कर्मचारीको माग सम्बोधन गर्न कानून मन्त्री गिरीको नेतृत्वमा समिति गठन



काठमाडौं,९ असार । आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय सदस्य छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेको थिए ।

बैठकमा मुख्य सचिव डा। बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए।

संसदका कर्मचारीहरू जेठ मसान्तदेखि अतिरिक्त कामको सेवा सुविधासहित विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका थिए।



प्रतिक्रिया दिनुहोस्