Logo

गणतन्त्रमा नागरिकको दिनदहाडै हत्या गर्न पाईंदैन्, तितुङको परिवारलाई क्षतिपूर्ती दिएर दोषीमाथि कारबाही होस्: सांसद बर्तौला



काठमाडौं,९ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संगल्ग निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका छन् ।

‘विशेष गरि राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रशन उठाउनु भएको छ । हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्तीक्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरुले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे’ उनले भने ‘यो असार ७ गतेको घटना हो । त्यहाँका स्थानीय नागरिक जसले वन जंगल संरक्षण गर्न लागे । जैविक विविधताको रक्षा गरे । तर, मध्यवर्ती, निकुञज र आरक्षको कारणले गर्दा त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरे । यो ठूलो जघन्य अपराध हो । यो लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न पाईंदैन् । आरक्षका कर्मचारी र सुरक्षा निकायबाट भएको यस घटनामा सत्यतथ्य छानबिन होस्’ ।

उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन् ।

निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेनाले गोली चलाउँदा हेटौँडाका शुक्रबहादुर तितुङको मृत्यु भएको थियो । सेनामाथि उल्टै फायर खोलेपछि सेनाले जवाफी फायरिङ गरेको सेनाको दाबी छ । 



प्रतिक्रिया दिनुहोस्