Logo

आन्दोलनरत संसद् सचिवालयका कर्मचारीसँग वार्ता जारी, एमाले सचेतक बराल पनि थपिइन्



काठमाडौं,१० असार । विभिन्न माग राखेर २ सातादेखि आन्दोलनरत संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी र सरकारले बनाएको वार्ता टोलीबीच छलफल जारी छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा छलफल भईरहेको छ । कानूनमन्त्री पदम गिरी नेतृत्वको तीन सदस्यीय टोलीले अहिले संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग वार्ता गरिरहेको छ ।

कानूनमन्त्री मन्त्री, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र कर्मचारी सम्मिलित वार्तामा आज भने राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बराल पनि उपस्थित छन् ।

आइतबार सरकारले आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय सदस्य छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेको थिए ।

संसदका कर्मचारीहरू जेठ मसान्तदेखि अतिरिक्त कामको सेवा सुविधासहित विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका थिए।



प्रतिक्रिया दिनुहोस्