Logo

संसद्मा सांसद पौडेलको प्रश्नः देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?



काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले ‘देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?’ भनी प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री र रक्षामन्त्रीले संसद्मा पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको उनले बताए । उनले बजेटमा पनि धेरै अनियमितता भएको बताए । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयदेखि सबैभन्दा कम बजेट रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरुले बजेट आ–आफ्नै निर्वाचन क्षेत्रमा लगेको उनले बताए ।

सरकारले संसद्लाई असाध्यै हेपेको उनको आरोप छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘मलाई कसैले टेरेन’ भनिरहेको अवस्था रहेको पनि बताए । प्रधानमन्त्रीय पद्धतीमा यस्तो अवस्था आउनु अत्यन्त लज्जाजनक रहेको बताए ।

‘केही दिनअघि गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसद्भित्र रहेको अभिव्यक्ति दिनुभयो । हिजोमात्रै रक्षामन्त्रीज्यूले प्रश्नहरुको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरु राख्नुभयो, त्यो उहाँको पदीय मर्यादाअनुरुप छ भन्ने मलाई लाग्दैन । बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक योजनामन्त्री देखि सबैभन्दा कम बजेट भएको जेष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लानुभयो ।’ उनले भने, ‘सरकारले संसद्लाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ? सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कहिले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो ? यो देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? म जवाफ चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्