Logo

घनश्यामले चुनौती दिने तयारी गरेपछि माधव र झलनाथबीच गोप्य भेटवार्ता, जुटेन सहमति



काठमाडौं,१० असार । एक सातापछि १०औं राष्ट्रिय महाधिवेशन गर्न लागेको नेकपा एकीकृत समाजवादीमा नेतृत्व लिन नेताहरुमा होडवाजी चलिरहेको छ ।

असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा १०औं महाधिवेशन गर्दैछ । हालसम्म एकीकृत समाजवादीको नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गर्दै आएका छन् ।

केही दिनअघिसम्म खनाल र नेपालबीचमा प्रतिस्पर्धा हुने भनिएपनि पछिल्ला दिनमा पुस्तान्तरणको नारा लिएर भुसाल अघि बढेपछि नेपाल र खनाल अप्ठ्यारोमा परेका छन् । सो अप्ठ्यारो बुझेर नै आइतबार राती यी दुई नेताबीच काठमाडौंमा गोप्य भेटवार्ता भएको छ ।

बबरमहलस्थित बसेरा बुटिक होटलमा आइतबार राति सो भेट भएको थियो । महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका लागि दाबी गरिरहेका शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा सचिवालय सदस्यद्वय राजेन्द्र पाण्डे र प्रमेश हमाल पनि सहभागी थिए ।

सो भेटमा नेपालले आफूलाई एक कार्यकालका लागि अध्यक्षमा सहयोग गर्न आग्रह गरेका थिए । तर, खनालले आफू १ मतमात्रै पाएपनि अध्यक्ष लड्न जानकारी गराएका छन् । खनालले आफ्नो अडान नत्यागेपछि नेपालले केही दिन महाधिवेशन सार्न प्रस्ताव गरेका थिए । तर, खनालले सो प्रस्ताव ठाडै अस्वीकार गरेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्