Logo

रमेश लेखकको टिप्पणीः हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको, प्रचण्ड जादुगर भएर आउनुभयो



काठमाडौं, १० असोज । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिले मुलुकमा अस्थिरताको चूनौती रहेको बताएका छन् । आज (सोमबार) नन्द्रप्रसाद शिवाकोटीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थिरता, समृद्धि, उन्नती, दीगो शान्ति, विकास, सुशासनको आवश्यकता रहेपनि राजनीतिक अस्थिरताले यी सबै कुराहरु ओझेलमा परेको बताएका हुन् ।

देशको राजनीतिले अझै कतिदिन अस्थिरता व्यहोर्नु पर्ने हो ? भन्ने कुराको टुङ्गो नरहेको पनि उनले बताए । उनले आफूहरुले राम्रो प्रधानमन्त्री खोजे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राम्रो जादुगरको रुपमा प्रस्तुत भएको उनले टिप्पणी गरे ।

‘सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होईन जादु हो भनेर भनिराख्नुभएको छ । अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । बडो विडम्बनामा हामीले बाँच्नु परिराखेको छ,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको एक कार्यक्रममा थोरै सांसद छन् भनेर नआत्तिन आग्रह गरेका थिए । उनले माओवादीको नम्बर जादुगर रहेको बताएका थिए । जताबाट भएपनि माओवादीलाई जादुगर नम्बरले सत्तामा राख्ने उनको भनाइको आशय थियो । नेता लेखकले प्रचण्डको सोही अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै यस्तो बताएका हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्