Logo

ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ



काठमाडौँ, १० असार । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सोही अवसरमा अध्यक्ष धितालले आयोगका सदस्य डा.मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

डा.धितालले आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन् । उनी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्वकार्यकारी निर्देशक समेत थिए । यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरुमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो । आयोगमा अध्यक्षसहित चार जना सदस्य रहने प्रावधान छ । यसअघि नै आयोगमा गौतम बंगोल सदस्यका रुपमा कार्यरत थिए ।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे । उनले आयोगमा पदाधिकारी नहुँदा बङ्गलादेशसँग विद्युत् निर्यातका सम्बन्धमा आवश्यक निर्णय गर्न कठिनाई भएको बताए । आयोगको पूर्णतासँगै सो प्रक्रिया समेत अगाडि बढ्ने उनको भनाइ थियो ।

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना तयार पारेको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सम्वद्ध सबै पक्षको सार्थक सहयोग र तत्परता जरुरी रहेको मन्त्री बस्नेतको कथन छ ।

उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सहभागी गराएर रेमिट हाइड्रोको काम अगाडि बढाइएको तथा जनताको जलविद्युत् कार्यक्रममार्फत सार्वजनिक निजी साझेदारी अभियानलाई नयाँ तरिकाले अगाडि बढाउन लागिएको समेत जानकारी दिए । मन्त्री बस्नेतले आयोगले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका सम्बन्धमा प्रभावकारी काम गर्ने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, विद्युत् विकास विभाग, नेपाल प्राधिकरणका उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।



प्रतिक्रिया दिनुहोस्