Logo

प्रधानमन्त्री प्रचण्डलाई सूर्य थापाको जवाफः जादु, टुनामुना र चमत्कारिक अवतारले सरकार टिक्दैन (भिडिओसहित)



काठमाडौं, ११ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले जादु, टुनामुना र चमत्कारिक अवतारले सरकार नटिक्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई खण्डन गर्दै यस्तो बताएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको कार्यक्रममा जादुगर नम्बर रहेको भन्दै नेता तथा कार्यकर्तालाई नआत्तिन भनेका थिए ।

‘३२ दाँतको त मैले लक्षणयुक्त हुन्छन् भन्ने सुनेको थिएँ । अब ३२ लाई जादु, टुनामुना इत्यादि त मैले सुनेको छैन । मेरो तान्त्रिक साथीहरु पनि छन्, ज्योतिष साथीहरु पनि छन्, कल्चरका साथीहरु पनि छन् । तिनीहरुले पनि शास्त्रमा यस्तो छ भनेको सुनेको छैन । जादुले, टुनामुनाले, चमत्कारले, अवतारले सरकार टिक्ने हो र भनेको ? शेरबहादुर देउवाले पनि उहाँलाई राम्रोसँग भोग्नुभएको छ । केपी शर्मा ओलीले पनि राम्रोसँग भोगिरहनुभएको छ । म निर्णायक छु जता मिल्यो उतै बहुमत पुग्छ भन्न खोज्नुभएको होला त्यो भने हुन्छ नि गणितीय भाषा । जादु, टुनामुना चाहीँ नभन्नुस् न,’- प्रचण्डको उक्त भनाइलाई खण्डन गर्दै थापाले भने ।

नेता थापाले प्रचण्ड पूरै अवधि यही गठबन्धन रहने भन्ने सहमतिअन्तर्गतको प्रधानमन्त्री रहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर फर्किँदा प्रचण्डलाई अब सरकार ढलिहाल्छ कि भन्ने महशुस भएको हुनसक्ने उनले बताए । नेता थापाले एमालेका कारणले यो सरकार नढल्ने बताए । तर, जादु, टुनामुना र चमत्कार सरकार नटिक्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्