Logo

रास्वपालाई रवि, एमालेलाई ओली र प्रधानमन्त्रीलाई गणितको मात्रै चिन्ता छः महामन्त्री शर्मा



काठमाडौं, ११ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अंशअंश रुपमा विभाजित भएको बताएका छन् । आज (मंगलबार) कांग्रेसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको सिंगो अस्तित्व हुनुपर्नेमा विभाजित भएको र सबैलाई खण्ड–खण्डको चिन्ता रहेको बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगी प्रकरणको कारबाहीबाट आफ्नो पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरे । एमालेलाई गिरीबन्धु टी स्टेट प्रकरणमा मुछिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय अंक गणितको मात्रै चिन्ता रहेको बताए ।

‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो सभापतिलाई सहकारी ठगीको कारबाहीबाट जोगाउन सकियोस् । चिन्ता जम्मा त्यतिमात्रै छ । अर्कोको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरीबन्धुको ठगीबाट जोगाउन सकियोस् । प्रधानमन्त्रीलाई चिन्ता कसरी गणितलाई रक्षा गर्ने गर्ने भन्ने कुरामा मात्रै छ,’– उनले भने ।

प्रधानमन्त्री शानदार दमदार पद रहेको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले उक्त कुरा विर्सिएको दाबी गरे । प्रधानमन्त्रीले आफ्नै क्याविनेटमा रहेका उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नु परेको बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउँदा प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुस् भन्न पनि नसकेको उनले बताए ।

‘आज प्रधानमन्त्रीजीको दुःख हेर्छु म, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ । उपप्रधानमन्त्रीजी भन्नुहुन्छ, जीबी राईलाई अघिल्लो सरकारले भगायो, अघिल्लो सरकारको नेतृत्वमा उनै प्रधानमन्त्री हुनुहुन्छ । अघिल्लो सरकारले भगायो भन्दैगर्दा कि तपाईँले यो अभिव्यक्ति फिर्ता लिनुस्, कि आज साँझ म तपाईँलाई बर्खास्त गर्छु भन्ने तागत आज देशको प्रधानमन्त्रीले राख्नुहुन्न,’– उनले भने ।

साथै, महामन्त्री शर्माले फरक प्रसंगमा नेपाल कहिल्यै पराधीन हुन नपरेको कुरा सत्य भएपनि नेपालले कहिले पनि हार्न परेन भन्ने कुरामा सत्यता नरहेको बताए । इतिहासमा नेपाल पराधीन नभएपनि धेरै पटक पराजीत भएको उनले बताए । विद्यालय र विश्वविद्यालयहरुमा वीर गोर्खाली, कहिल्यै नहारेको भनी पढाएर गलत गरिएको उनको भनाइ छ । नेपाल पराजीत हुँदा पूर्वको दार्जिलिङसम्म र पश्चिमको कुमाउ, गडवाल, देहरादुन गुमाउन परेको उनले सुनाए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्