Logo

महाधिवेशनबाट नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व चयन गरिनुपर्छः झलनाथ खनाल



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १०औं महाधिवेशनले सहमतिका साथ नीति र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

आज (मंगलबार) राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्न सकेको खण्डमा नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ तरङ्ग पैदा हुने बताए ।

‘यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अगाडि बढ्नुपर्छ । यसरी हामी अगाढि बढ्यौ भने नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ तरङ्ग सिर्जना हुनेछ,’– उनले भने ।

अहिले दक्षिणपन्थी अवसरवाद र यथास्थितिवाद हाबी भइरहेको पनि उनले बताए । नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण भएमा कम्युनिष्ट आन्दोलनमा भूकम्प सिर्जना हुने उनको भनाइ छ । उनले एकीकृत समाजवादीको १०औं महाधिवेशनले रुपान्तरण र परिवर्तनको सुरुवात गर्ने बताए ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन आगामी असार १६ देखि १८ गतेसम्म हुने कार्यतालिका रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्