Logo

नेकपा (एस) लाई समाजवादी क्रान्तिको अगुवाको संज्ञा दिँदै माधव नेपालले भने, ‘राष्ट्रिय राजनीतिका सबै पात्रलाई राम्रोसँग चिनेका छौं’



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा विद्रोहको आँट गरेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतिका विरुद्धमा विद्रोहको ज्वाल दन्काएको बताएका हुन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं, विद्रोह गर्ने आँट गरेका छौं । कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतिका विरुद्धमा विद्रोहको ज्वाल दन्काएका छौं । एक्लै भएपनि अगाडि बढ्ने हिम्मत गरेका छौं,’– उनले भने ।

आफूहरु एक्ला–एक्लै भएपनि अगाडि बढ्ने हिम्मत गर्दा अहिले एकीकृत समाजवादीले वडा–वडासम्म संगठन, जनसंगठनहरु निर्माण गरेको पनि उनले सुनाए । ंअध्यक्ष नेपालले देश व्यापी रुपमा सांस्कृतिक अभियान सञ्चालन गर्न निर्देशन दिए ।

निराशालाई हटाएर एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरव बोध गर्न आवश्यक रहेको पनि उनले बताए । उनले नेता तथा कार्यकर्ताहरुलाई आशावादबाट ओतप्रोत भएर अरुलाई पनि आशावादी बनाउन आग्रह गरे । उनले एकीकृत समाजवादीले राष्ट्रिय राजनीति र अन्तराष्ट्रिय राजनीतिका सबै शक्तिहरुलाई राम्रोसँग चिनेको दाबी गरे । उनले समाजवादको यात्रामा नेपालका दलहरुभन्दा एकीकृत समाजवादी पार्टी अगुवा रहेको पनि ठोकुवा गरे ।

‘राष्ट्रिय राजनीतिका सबै शक्तिहरुलाई रामू्रोसँग चिनेका छौं । अन्तराष्ट्रिय राजनीतिका पनि प्रत्येक शक्तिहरुलाई हामीले बुझेका छौं । यस अर्थमा हामीले समाजवादी क्रान्तिको जुन कार्यक्रम, हाम्रो पार्टीले यही समाजवादको यात्रालाई अघि बढाउनका लागि अगाडि सारेको छ । निसन्देह अरु पार्टीले यसरी व्यवस्थित कार्यक्रम ल्याएका छैनन् । यस अर्थमा हाम्रो पार्टी अगुवा हो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्