Logo

गगनलाई कारबाही नगर्ने हो भने रवि देशद्रोहीको मतियार हुन्ः भीम रावल (भिडिओसहित)



काठमाडौं, १२ असार । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध लगाइएको आरोप उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मा लिनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विदेशीलाई देशको गोप्य सूचना बेच्ने कुरालाई चानचुने रुपमा लिन नहुने बताए । गृहमन्त्री लामिछानेले लगाएको आरोप सत्य हो भने कांग्रेस महामन्त्री थापालाई देशद्रोहको मुद्दा लगाइनुपर्ने उनको भनाइ छ । उनले विदेशीलाई गोप्य सूचना बेचेको थाहा पाएर पनि कारबाही नगर्ने हो त्यसको मतियार गृहमन्त्री लामिछाने ठहरिने बताए ।

‘गगन थापाजीको बारेमा संसद्मा, त्यो गृहमन्त्रीजीले जिम्मा लिनुपर्छ, मैले फेरि दोहोर्याउँछु, उहाँले विदेशीहरुलाई सूचना बेच्ने व्यक्ति भनेर उहाँले आरोप लगाउनुभयो । यो राज्य हो भने, यहाँ संविधान र कानुन छ भने, यो देश सार्वभौम र स्वतन्त्र देश हो भन्ने रवि लामिछानेको अलिकति चेत छ भने कुनै त्यस्तो सूचना बेच्ने व्यक्तिलाई उहाँले जानकारी लिएपछि किन कारबाही नगरेको ? अझ पनि म भन्छु, यदि उहाँले अब गगन थापाजीलाई कारबाही गर्नुहुन्न भने त्यो अपराध हो, देशद्रोह हो त्यो सूचना बेच्ने काम । त्यसको मतियार रवि लामिछानेजी पनि हो,’– उनले भने ।

साथै, अहिले राज्यका कुनै पनि संरचना ठीक ढङ्गले सञ्चालन नभएको उनले बताए । मुख्य सचिवदेखि मन्त्री, गृहमन्त्रीसम्म भ्रष्टाचारको आरोप र जालो रहेको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदान, सहकारी ठगी प्रकरण लगायतका विवाद सही तरिकाले निरुपण नभएको बताए । सरकारमा रहेका कतिपय मन्त्रीहरुको दुई वटा नागरिकता रहेको पनि आशंका व्यक्त गरे ।

‘राज्यको सम्पूर्ण प्रणाली हेर्नुस् । देशको मुख्यसचिव भ्रष्टाचारमा, गृहमन्त्रीदेखि उनको नातागोता, भाइ, भतिजा, राष्ट्रपति, उपराष्ट्रपति पदमा भएका व्यक्तिका भाइ, छोरा, नजिकका व्यक्तिहरु ठूला–ठूला भ्रष्टाचार काण्डमा । नक्कली शरणार्थी काण्ड, सुन तस्करी काण्ड, अहिलेका गृहमन्त्रीका दुईवटा नागरिकता, दुई वटा राहदानीका काण्ड, सहकारीको पनि निष्पक्ष छानविन हुने अवस्था देखिँदैन । सरकारमा रहेका कतिपय मन्त्रीहरुको दुईवटा नागरिकता भएको आशंका छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्