काठमाडौं,१५ असार । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जसको नीति उसैको नेतृत्व यसपटक पार्टीमा लागू गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
भोलिबाट सुरु हुने एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले नीति र नेतृत्व फरक हुँदा पार्टीहरु दुर्घटना परेको बताए । उनले एकीकृत समाजवादीमा त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
‘नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो जसको कारण कम्युनिष्ट पार्टीमा दुर्घटना भयो’, उनले भने, ‘त्यो असंगतिको कारणले गर्दा आज देशले क्षति व्यहोरिरहेको छ’ ।
भुसालले पार्टीको महाधिवेशन आफ्नो लागि मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनकै महापर्वको भएको बताए । कम्युनिस्ट आन्दोलनको विभाजन, निराशा, र सन्नाटा र त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेको अस्थिरतालाई चिर्नका लागि यो महाधिवेशनबाट एउटा धेरै प्रभावकारी, बलशाली र दूरगामी पहलकदमी आरम्भ गरिने उनले बताए ।
भोलिबाट एकीकृत समाजवादीले महाधिवेशन गर्दैछ । यसपटक हालका अध्यक्ष माधवकुमार नेपाल र भुसालले आकांक्षा राखेका छन् । भुसाललाई सम्मानीत नेता झलनाथ खनालले सघाउने संकेत गरेका छन् ।