Logo

छ अर्बभन्दा बढी निक्षेप ठगी गरेको आरोपमा लालीगुँरास सहकारीका अध्यक्ष श्रेष्ठसहित ४ जना पक्राउ



काठमाडौं, १६ असार । बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लालीगुँरास सहकारीका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सहकारीका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।

ललितपुर, ललितपुर–३ पुल्चोकमा रहेको लालीगुँरास सहकारी संस्थामा सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइने भनी विश्वास दिलाई ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर ,ललितपुर पठाईएको छ ।

उनीहरुले २२ हजार बचतकर्ताबाट ६ अर्ब ३० करोड ठगी गरेको प्रहरीले बताएको छ । सहकारीका अध्यक्ष श्रेष्ठले नेपाल बैँक लिमिटेड मुख्य कार्यालय नयाँ सडकमा ३१ बर्ष चिफ म्यानेजर भइ काम गरेका थिए । उनी २०६१ मा सो सहकारीको सचिव बनेका थिए । लालीगुँरासमा सचिवको रुपमा २ वर्ष काम गरेका २०६४ मा उपाध्यक्ष बनेका थिए । ८ वर्ष उपाध्यक्ष बनेका श्रेष्ठ २०७४ सालदेखि सो सहकारीका अध्यक्ष थिए ।

त्यस्तै, सचिव एवं प्रमुख कार्यकारी अधिकृत भण्डारीले २०५६ सालदेखि हालसम्म सो सहकारीमा विभिन्न पदमा रहेर काम गरेका थिए । २०५६ साल असोज १५ गते म्यानेजरको रुपमा सो सहकारीमा आएका उनी प्रमुख कार्यकारी अधिकृत, संचालक सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेका थिए ।

भण्डारीले २०६६ र २०७६ मा सहकारी राष्ट्रिय विकास वोर्डको सञ्चालक पदमा रहेर काम गरेको बताइएको छ । उनले राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक पदमा रहेर करिब ६ वर्ष (२०७२ साल देखि २०७७) काम गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्