Logo

अहिलेसम्मका राष्ट्रपतिले संविधानको रक्षा गर्न सकेनन्, रामचन्द्र पौडेलका सामु पनि यक्ष प्रश्न छः पूर्व प्रधानमन्त्री खनाल (भिडिओसहित)



काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब बन्ने सरकार संविधानको धारा ७६ (३) अनुसार बन्नुपर्ने बताएका छन् । हिजो (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो दाबी गरेका हुन् । संविधानको धारा ७६ (२) अनुसारको सरकार असफल भएपछि उपधारा ३ को सरकार बन्ने भनेर संविधानले प्रष्ट रुपमा बोलेको उनको भनाइ छ । सरकार गठनका सम्बन्धनमा संवैधानिक व्यवस्थाको अलवा सर्वोच्च अदालतबाट पनि विभिन्न खालका ब्याख्या भएको बताउँदै उनले अब बन्ने सरकार पनि राष्ट्रपतिको विवेकमा भर पर्ने सम्भावना रहेको उनले बताए । उनले संवैधानिक व्यवस्थाअनुसार धारा ७६(३) को सरकार बन्नुपर्ने दाबी गर्दै राष्ट्रपति रामचन्द्र पौडेल अहिले परीक्षणमा रहेको टिप्पणी गरे ।

‘अब बन्ने सरकार संविधानको धारा ७६(३) को हुनुपर्ने सामान्य बुझाइ छ । तर, केही नजीरहरु विकसित भएका छन् । नजिर दुवैखालका छन् । दुवैखालका नजीरमध्ये राष्ट्रपतिले टिप्ने नजीर कुन हो ? यो आम जनताले हेरिरहेको अवस्था छ । राष्ट्रपतिको विवेकले यो निर्णय हुने हो कि ?’ प्रश्न गर्दै उनले भने, ‘विवेकले के देख्ने हो ? कतातिर जाने हो ? उहाँ कांग्रेस पार्टीमा लामो समय रहेको हुनाले कांग्रेसबाट प्रधानमन्त्री बन्नुपर्छ भन्नेतिर उहाँको विवेक जाने हो कि ? अथवा होईन केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाऔं भन्ने हो कि ? अहिले राष्ट्रपति पनि परीक्षणमा हुनुहुन्छ ।’

साथै, अहिलेसम्मका राष्ट्रपतिहरुले संविधानको रक्षा गर्न नसकेको उनको आरोप छ । राष्ट्रपतिहरुले विवेक, समर्पण र प्रतिवद्धताका साथ संविधानको रक्षाको पक्षमा उभिन नसकेको उनको भनाइ छ । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले पनि सर्वोच्चले असंवैधानिक भनेर ब्याख्या गरिसकेको संसद् विघटनलाई ठीक थियो भनिरहेको बताए ।

‘अहिलेसम्मका राष्ट्रपतिहरुले संविधानलाई रक्षा गर्ने काम गर्न सकेका छैनन् । रामवरणजीको पालामा पनि केही–केही समस्याहरु आए । विद्याजीको पालामा समस्या आएमात्रै होईन, असंवैधानिक भनेर अदालतले फैसला गरेको कुरालाई अहिले पनि ठीकै थियो भन्ने ठाउँमा उहाँ हुनुहुँदो रहेछ ।’ उनले भने, ‘राष्ट्रपतिले विवेक, समर्पण र प्रतिवद्धताका साथ संविधानको रक्षक भएर उभिनुपर्ने थियो । त्यो देखिएको छैन । अब रामचन्द्र पौडेलका सामू अर्को यक्ष प्रश्न छ । उहाँ के गर्नुहुन्छ ?’ File Photo



प्रतिक्रिया दिनुहोस्