Logo

केन्द्रपछि माओवादी नेतृत्वका दुवै प्रदेश सरकार अल्पमतमा



काठमाडौं,२४ असार । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका दुईवटै प्रदेश सरकार अल्पमतमा परेका छन् ।

हाल माओवादी केन्द्रको तर्फबाट बागमतीमान शालीकराम जम्कट्टेल र लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री छन् । दुवै प्रदेशबाट एमाले बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । सोमबार बिहानै एमाले बागमतीबाट बाहिरिएको छ ।

शुक्रबार नै सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरे पनि जम्कट्टेल काठमाडौंमा रहेका कारण सम्भव नभएको एमालेले जनाएको छ ।

जम्कट्टेल नेतृत्वको सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्रीमा केशव प्रसाद पोखरेल, स्वास्थ्यमा रामेश्वर श्रेष्ठ, खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्रालयमा एकलाल श्रेष्ठ र उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ रहेका थिए ।

१७ असारमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार दुई ठूला दलले ३(३ प्रदेशको सरकारको नेतृत्व गर्ने छन् । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

उता लुम्बिनीमा गत साता नै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् । लुम्बिनीमा अब एमालेको नेतृत्वमा सरकार बन्नेछ भने बागमती पहिलो पटक कांग्रेसले सरकार बनाउनेछ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेल र महराले ३० दिनभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रष्टरुपमा दुई दलको बहुमत रहेको हुँदा माओवादी नेतृत्वको दुवै प्रदेश सरकार ढल्ने करिब निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्