Logo

कोशीमा पनि केन्द्रीय समीकरणअनुसारकै सरकार बन्ने, असार २८ को पर्खाइमा मुख्यमन्त्री कार्की



काठमाडौं, २४ असार । केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरसँगै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीविरुद्ध प्रदेश सभामा संकल्प प्रस्ताव पारित गराएर मुख्यमन्त्री बनेका हिक्मत कार्कीले फेरि कांग्रेसँग मिल्नुपर्ने भएको छ ।

केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरले पुनः प्रदेशहरुमा हलचल मच्चिएको छ । माओवादीबाट मुख्यमन्त्री रहेका प्रदेश सरकारहरु अल्पमतमा परिसकेका छन् । कोशीका मुख्यमन्त्री कार्की भने अहिले आफूले कसैलाई सरकार छाड वा बस नभनेको बताउँछन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यही असार २८ गते केन्द्रमा कांग्रेस–एमालेको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि देखिने बताए ।

‘२८ गतेपछि केन्द्रमा नयाँ सरकार बन्छ । त्यसको सकारात्मक, नकारात्मक असरहरु सबै प्रदेशमा भइनैहाल्छ । कोही हट्नुपर्छ, कोही थपिनुपर्छ, यस्तै हो,’– उनले भने ।

केन्द्रीय सत्ता समीकरणमा नेपाली कांग्रेस सहभागी भएसँग कोशीमा पनि कांग्रेससँग छलफल चलिरहेको उनले बताए । माओवादी केन्द्रका १३ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।

कोशी प्रदेश सभामा एमालेको (उपसभामुखसहित) ४०, माओवादीको १३, कांग्रेसको २९, राप्रपाको (सभामुखसहित) ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् । कूल १० सदस्यी कोशी मन्त्रिपरिषद्मा माओवादीबाट ३ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्