Logo

ओली सरकारमा एमालेबाट विष्णु, छविलालदेखि विद्या र अञ्जानसम्म, को-को छन् मन्त्रीको लाईनमा ?



काठमाडौं,२५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २८ गतेपछि बन्ने नयाँ सरकारमा मन्त्री बन्नका लागि सांसदहरुले दौडधुप थालेका छन् ।

एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार ओली प्रधानमन्त्री हुने र त्यसमा कांग्रेसबाट १० जना र एमालेबाट ९ जनाले मन्त्रीको जिम्मेवारी पाउनसक्ने आंकलन छ । एमालेको भागमा पर्ने ९ मन्त्रालयका लागि अहिले २ दर्जनजति सांसद लबिङमा लागेका छन् ।

को को छन् चर्चामा

एमालेले गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सचिव रघुवीर महासेठको नेतृत्वमा ८ जना मन्त्री पठाएको थियो । दाहाल सरकारमा पठाएका पदम गिरीबाहेक अरु कोही पनि दोहोरिने सम्भावना नभएको एमाले स्रोतको भनाई छ । दाहाल सरकारमा पठाएका कुनै पनि मन्त्रीको कामबाट एमाले नेतृत्व सन्तुष्ट हुन नसकेको कारण यसपटक पदाधिकारी तहबाटै सरकारमा सहभागी गराउनेबारे छलफल भईरहेको छ ।

पदाधिकारी तहबाट एमालेले मन्त्री छान्दा पहिलो नम्बरमा उपाध्यक्ष विष्णु पौडेल छन् । पटक-पटक उपप्रधानसहित अर्थमन्त्री बनेका उनी यसपटक पनि सोही मन्त्रालयका दावेदार हुन् । अर्थतन्त्र लर्खराएको बेला एमालेमा उपाध्यक्ष विष्णु पौडेलबाहेक अर्थमन्त्रीका लागि अर्को अनुहार देखिँदैन । त्यसो त, एमालेमा अर्थमन्त्रका दख्खल राख्ने नेता नभएको हैनन् । अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल पनि अर्थमन्त्रीका लागि योग्य नेता हुन् । तर, आम चुनावमा उनीहरू चितवन १ र दाङ २ बाट पराजित भए । त्यसैले अनुभवी नेतामा उपाध्यक्ष पौडेल अर्थमन्त्रीका लागि एक्ला दाबेदार हुन् ।

अध्यक्ष ओलीले अर्थमन्त्रीमा पौडेललाई लैजाने वा नलैजाने अझै निश्चित भइसकेको छैन । नयाँ सरकारमा उनले उपप्रधानमन्त्री राख्न चाहेका छैनन् । त्यसलाई एमाले वृत्तमा पौडेललाई अर्थमन्त्री बनाउन नचाहेको संकेतका रूपमा लिइएको छ । पौडेल यसअघि प्रचण्ड सरकारमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । अर्थतन्त्रका विषय विज्ञ नभए पनि अर्थराजनीतिसँग जोडिएका सबै सरोकारवालासँग राम्रो समन्वय गरेर मन्त्रालय चलाउने खुबीले पौडेल निजीक्षेत्रले पत्याएका अर्थमन्त्री हुन् । उनी मन्त्री हुँदा शेयर बजारले सधैँ स्वागत गरेको विगत छ ।

पौडेलपछि एमालेबाट मन्त्री हुनेको सम्भावित सूचीमा सचिवत्रय छविलाल विश्वकर्मा, योगेश भट्टराई र गोर्कण विष्ट छन् । यी तीनै जनाले एक पटक मन्त्रीको स्वाद चाखिसकेका छन् । समावेशीका हिसावले पनि एमालेले विश्वकर्मालाई मन्त्री बनाउने निश्चितजस्तै देखिन्छ । यसअघि सभामुखमा दाबी गरेका उनलाई यसपटक भने मन्त्री बनाउने मनस्थितिमा एमाले छ ।

विष्ट पूर्व उर्जा र श्रममन्त्री हुन् । गुल्मीबाट लगातार चुनाव जित्नेमा उनी पनि पर्छन् । उनले पुन: एकपटक उर्जा वा श्रममन्त्री बन्ने इच्छा राखेका छन् । त्यस्तै पूर्व पर्यटनमन्त्री भट्टराई यसपटक सोही मन्त्रालय हाँक्ने दाउमा छन् ।

यता लगातार दुई पटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएकी विद्या भट्टराई र एलपी सावाँ लिम्बूको नाम पहिलो प्राथमिकतामा राखेको छ । विद्या कास्की २ र लिम्बू झापा ४ बाट लगातार दोस्रोपटक प्रत्यक्षमा चुनाव जित्ने सांसद हुन् । त्यसोत एमालेको भागमा परराष्ट्र मन्त्रालय एमालेले पाएमा राष्ट्रिय सभा सदस्य डा अञ्जान शाक्यलाई पठाउने एमालेको तयारी छ । तर, सो मन्त्रालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजू राणालाई पठाउने सोच बनाएका छन् ।

यी बाहेक रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, सुनिता बरालदेखि एमाले प्रमुख सचेतक महेश बर्तौला, जुलीकुमारी महतो महासेठ, इश्वरबहादुर रिजाल, गोकुल बाँस्कोटालगायतले पनि मन्त्रीका लागि लविङ गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्