Logo

सहकारी पीडितको गुनासोः ठगहरु खुलेआम हिँडेको सरकार देख्दैन, हामी देखिराखेका छौं



काठमाडौं, २६ असार । सहकारी ठगी छानविनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । बैठकमा आज २९ वटा संकटग्रस्त सहकारीका पीडितहरु सहभागी छन् । समितिले पीडितहरुको गुनासो र सुझाव सुनिरहेको छ ।

झापाको दमकमा रहेको तुलसी सहकारीबाट पीडित भएकाहरुले सहकारी ठगहरुलाई सरकारले नदेखेको बताए । ‘सहकारी ठग खुलेआम हिँडिरहेका छन् । सरकार देख्दैन, हामी देखिरहेका छौं,’– ती पीडितले भने ।

उक्त सहकारीबाट झण्डै एक अर्ब ५७ करोड हिनामिना गरेको बताइएको छ । उक्त सहकारीका अध्यक्ष केदारनाथ शर्मा, भुवन शर्मा, रेवती प्याकुरेल, रीतु थापालगायत विरुद्ध उजुरी परेपनि उनीहरुलाई पक्राउ गरी अनुसन्धान नगरिएको पीडितहरुको गुनासो छ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गरेर थप प्रमाण जुटाउने बताएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्