Logo

पोल्याण्डको नागरिकता लिएको आरोप लागेपछि मन्त्री सुमनाको प्रतिक्रियाः मैले काम चाहीँ राम्रै गरेछु (भिडियोसहित)



काठमाडौं, २६ असार । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग उजुरीको सम्बन्धमा जवाफ मागेको छ । मन्त्री सुमनाले पोल्याण्डको नागरिकता लिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सन्दर्भमा सतर्कता केन्द्रले जवाफ मागेको हो ।

अति गोप्य भनी सतर्कता केन्द्रले पठाएको पत्रका बारेमा मन्त्री सुमनाले एक भिडिओ सन्देशमाफर्त प्रष्टीकरण दिएकी छन् । उनले आफूले अहिलेसम्म २० ओटा देशको भ्रमण गरेको र कुनै पनि देशमो ग्रीनकार्ड, पर्मानेन्ट रेजिडेन्सी वा नागरिकता नलिएको बताएकी छन् । आफूलाई ग्रीनकार्ड, पर्मानेन्ट रेजिडेन्सी वा नागरिकता लिने प्रक्रियासमेत जानकारी नगरेको उनले बताईन् ।

सतर्कता केन्द्रको पत्र आएपछि त्यहाँको नागरिकता लिने प्रक्रियाका बारेमा खोजी गरेको बताउँदै उनले भनिन्, ‘नागरिकता त टाढाको कुरा । त्यहाँ गएर टेम्प्रोररी रेजिडेन्स पर्मिट भन्ने लिनुपर्ने रहेछ । त्यो लिँदा पासपोर्टमा छाप लगाइदिने रहेछ । त्यो लिएर पोल्याण्डमा बसिसकेपछि पर्मानेन्ट रेजिडेन्सीको काम अगाडि बढ्ने रहेछ । त्यसको दुई÷तीन वर्ष बसेपछि बल्ल नागरिकता पाउने रहेछ । म जतिदिन मन्त्री भएको छु, त्यो भन्दा कम पोल्याण्ड बसेको छु । यो सम्भव नै नहुने कुरा । कसैले के प्रमाण छ भनेर उजुरी गरेको हो ? उजुरी गर्ने मान्छेले नै देला ।’

कोही मान्छेले विदेशीसँग बिवाह गर्दैमा त्यहाँको नागरिकता लिन्छ भन्ने गलत सोचाइ नै गलत रहेको उनले बताईन् । आफूमाथि निरन्तर प्रहार भइरहेको तर्फ लक्षित गर्दै उनले आफूले सांसद र मन्त्री भएर धेरै राम्रो काम गरेको आभास भएको बताईन् ।

‘मैले काम चाहीँ राम्रै गरेछु क्या हो ? यदि नराम्रो काम गरेको भए त ममाथि यतिधेरै अटेन्सन पनि हुँदैन थियो होला । राम्रै काम गरेछु । त्यसको लागि खुसी नै छु,’– उनले भनिन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्