Logo

रवि लामिछानेको पासपोर्ट प्रकरण छानविन गर्न तत्काल उच्चस्तरीय समिति बनाउनुपर्छः मुकुल ढकाल



काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राहदानी विवादमा उच्चस्तरीय छानविन समििित गठन गर्नुपर्ने बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमार्फत उनले सभापति लामिछानेको राहदानी प्रकरण पार्टीको जीवनसँग जोडिएको भन्दै समिति बनाएर छानविन गर्न माग गरेका हुन् ।

‘ राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेमाथि तत्काल स्वतन्त्र छानविन समिति गठन गर्नुपर्छ । त्यो मात्रै होईन, पासपोर्टको सवालमा पनि स्वतन्त्र छानविन समिति गठन गर्नुपर्छ । किन भनिरहेको छु पासपोर्टको सवालमा भने, पासपोर्टको सवालमा यदि उहाँलाई दोषी ठहर गरेको खण्डमा उहाँले कहिले पनि चुनाव लड्न नपाउने कानुनी प्रावधान छ । पार्टीको जीवनसँग महत्वपूर्ण पक्ष रहेको कारणले गर्दाखेरी पासपोर्ट प्रकरणका सन्दर्भमा पनि उच्चस्तरीय छानविन समिति गठन गर्नुपछ,’– उनले भने ।

ढकालले आफू पार्टी महामन्त्री र प्रवक्ताबाट निष्काशित नभएको पनि दाबी गरे । आफूलाई गरिएको कारबाही राजनीतिक दल सम्बन्धि ऐन र पार्टीको विधान विपरीत रहेको उनको भनाइ छ ।

उनले उपसभापति डोलप्रसाद अर्यालले आर्थिक अपचलन गरेको पनि आरोप लगाए । पार्टीमा आर्थिक हिसाब–किताब मिलाउने जिम्मा उपसभापति अर्याललाई दिइएको बताउँदै उनले पारदर्शिता नअपनाएको बताए । डीपी अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको उनले बताए ।

‘डीपी अर्याल सरले के सम्म गर्नुभएको छ भने कोही साथीले दिएको पैसालाई पार्टीमा जम्मा नगरी त्यो पैसा आफ्नो खल्तीमा राख्ने काम गर्नुभएको छ,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्