Logo

मुकुल ढकाल ‘बैगुनी केटो’ पदावलीका लागि योग्य पात्र सावित हुनुभयोः रमेश प्रसाईँ (भिडियोसहित)



काठमाडौं, २७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता रमेश प्रसाईंले पार्टी सभापति रवि लामिछानेले मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशन गर्न नमानेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समितिमा आफूलगायत केहीले मुकुललाई साधारण सदस्यबाट पनि निष्काशित गर्नुपर्छ भनेर माग गरेको बताए । पार्टी सभापति लामिछानेले आफूमाथि धेरै आक्रमण हुँदा पनि ‘मेरो परिवारको सदस्यजस्तो हो, हिजो सुरुवातदेखि हिँडेको सहयात्री हो । उ सच्चिएर आउँछ भने फर्किनेबाट खुल्ला राख्नुपर्छ’ भनेको कारणले साधरण सदस्यबाट निस्काशन नगरेको उनले बताए ।

मुकुलका पछिल्ला गतिविधिले उनी कुनै अमुक राजनीतिक शक्तिबाट त परिचालित होईनन् भन्ने आशंका जन्मिएको उनले बताए । ‘हिजो बैठकमा मलगायत केही साथीहरुको मत मुकुल ढकालको साधारण सदस्यता पनि खारेज गर्नुपर्छ भन्ने थियो । उहाँका अभिव्यक्तिहरु पार्टीलाई सच्याउने होईन, सकाउने किसिमले असाध्यै बदनियतपूर्ण रुपमा आए । उहाँ कुनै अमुक राजनीतिक शक्तिबाट परिचालित त होईन भनेर शंकाको सुविधा पनि थियो । तर, पार्टी सभापतिले उहाँप्रति प्रेम दर्शाउनुभयो,’– उनले भने ।

पार्टी सभापति लामिछानेसँग जोडिएर नै मुकुलको सामाजिक र राजनीतिक व्यक्तित्व स्थापित भएको उनको दाबी छ । मुकुलको सामाजिक, राजनीतिक व्यक्तित्व नै पार्टी सभापति लामिछानेले स्थापित गरिदिएको दाबी गर्दै उनले रास्वपालाई रवि लामिछानेको क्लब भनेकोप्रति आपत्ति जनाए । उनले मुकुललाई ‘बैगुनी केटो’ को संज्ञा दिए ।

‘एकपटक बैगुनी केटो भन्ने पदावली प्रयोग भएको थियो, एक जना नेताको सन्दर्भमा । वास्तवमा त्यो ‘बैगुनी केटो’ भन्ने पदावलीका लागि विल्कुल योग्य पात्र चाहीँ मुकुल ढकाल सावित हुनुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्