Logo

ओली प्रधानमन्त्री बन्न संविधानले दिँदैन, राष्ट्रपतिले विवेक गुमाउन हुँदैनः पूर्व महान्यायाधिवक्ता प्रधान



काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) का नेता, पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न संविधानले नदिने दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा ७६ (३) आकर्षित हुने बताएका हुन् । उनले अब बन्ने सरकार संविधानको धारा ७६ (३) अनुसार नै रहेको जिकिर गदैं कांग्रेस–एमालेले झुक्किएर ओलीलाई प्रधानमन्त्री बनाउने सम्झौता गरेको टिप्पणी गरे ।

ओलीलाई प्रधानमन्त्री बनाउने भनेर कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले वचन दिएपनि संविधान बाधक बन्दा अहिले छटपटी सुरु भएको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउँदै गर्दा संविधानको धारा ७६ (२) को प्रोभिजन नै सकिने बताए ।

प्रधानमन्त्रीको दाबी पेशका लागि आह्वान गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले विवेक गुमाउन नहुने उनको टिप्पणी छ । विगतका राष्ट्रपतिले झैं पौडेलमा रवैया नदोहोरियोस् भन्ने आफूहरुको चाहना रहेको पनि उनले बताए ।

‘संविधान वकिल, न्यायाधीश र शीर्षस्थ राजनीतिक दलका नेताले मात्रै हेर्ने डकुमेन्ट होईन । आम जनताले हेनुपर्यो । हरेक प्रोभिजन स्वतन्त्र हुन्छ । स्वतन्त्र अस्तित्व हुन्छ । ७६ (३) चाहीँ कुन अवस्थामा लागू हुन्छ त ? उहाँहरुले भन्नुपर्यो नि त । संविधान नहेरेर सम्झौता गर्ने, ओली प्रधानमन्त्री हुन संविधानले दिँदैन । कांग्रेसका नेताहरु संविधानले तपाईँलाईँ दिँदैन भनेर फर्किन सक्दैनन् । यसमा राष्ट्रपति संविधानको संरक्षक हो भने विवेक गुमाउन हुँदैन । संविधानको अन्यथा ब्याख्या गर्न पाईँदैन । विगतका रवैयाहरु नदोहोरियोस् भन्ने हामी विशेष आग्रह गर्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्