Logo

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नचाहेको गगनको स्पष्टोक्ति



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने सरकारमा आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । आज (बिहीबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीकै कामले भ्याइनभ्याइ रहेको बताए । उनले सरकारलाई सचेत गराउने काम प्रतिपक्षको मात्रै नभएको बताउँदै उनले शक्तिको दुरुपयोग भएमा सचेत गराउन पनि आफू मन्त्री नबन्ने बताए ।

‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होईन, सत्ता पक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । अबको दुई ÷तीन वर्षको समय जुन छ, मेरो भूमिका सांसदको रुपमा रहन्छ,’– उनले भने ।

अल्पमतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (असार २८ गते) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । कुनै नाटकीय परिवर्तन नभएका प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै कांग्रेस–एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने तयारी रहेको छ ।

ओली नेतृत्वको सरकारमा महामन्त्री थापा सहभागी हुने धेरैको आँकलन रहेको थियो । महामन्त्री थापाले नै आफू पार्टी महामन्त्री र सांसदको रुपमा काम गर्ने, अहिले मन्त्री नबन्ने बताएका हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्