Logo

सहकारी ठगी प्रकरण: रवि गृहमन्त्री हुँदै छिनोफानो हुने सम्भावना टर्‍यो, राय बाझिएको मुद्दा असोजमा धकेलियो



काठमाडौं,२७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको पूर्ण सुनुवाइ असोजमा हुने भएको छ । सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएपछि पूर्ण इजलासमा पुगेको सो मुद्दा अब असोज १० गते सुनुवाइ हुनेछ ।

सहकारी ठगीमा निष्पक्ष अनुसन्धानका लागि निलम्बन माग गरिएको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीबीच राय बाझिएको थियो । अधिवक्ता अनुपम भट्टराईको रिटमा न्यायाधीश मल्लले राजीनामा व्यक्तिको नैतिक विषय भन्दै छनोट गर्ने अधिकार उनैमा हुने राय राखेकी थिइन् । उनले सहकारी ठगीमा अनुसन्धान भने हुनुपर्ने भन्दै निष्पक्ष अनुसन्धान हुन दिनु भन्ने आदेश जारी गरेकी थिइन् ।

न्यायाधीश सुवेदीले भने जुन निकायले अनुसन्धान गर्ने हो त्यहीको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिमाथि पदमै रहेर निष्पक्ष अनुसन्धान हुन नसक्ने भन्दै मार्गप्रशस्त गर्नु भन्ने आदेश जारी हुने राय राखेकी थिइन् । न्यायाधीश सुवेदीले संविधान र कानुनका वैध अपेक्षा अनुरुप लामिछानेलाई राजीनामाको आदेश हुने राय राखेपछि मुद्दा पूर्ण इजलासबाट टुंग्याउनुपर्ने भएको हो । तर, त्यसरी राय बाझिएको मुद्दाको आदेशमा अग्राधिकार वा पेसी मिति दुवै नहुँदा सर्वोच्च प्रशासनले अटोमेसनमा राखी सामान्य मुद्दाकै प्रक्रिया अनुसार अघि बढाएको हो ।

पोखराको सूर्यदर्शन लगायतका सहकारी ठगीमा लामिछाने जोडिएको रिट निवेदक भट्टराईको दाबी छ । यसअघि सर्वोच्चले पटक पटक सुनुवाइ गर्दै थप कागजात झिकाउने ओदश िदँदै आएको छ । यता सरकारले शुक्रबार विश्वासको मत लिन लागेको छ । प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । अहिलेकै अवस्थामा दाहालले विश्वासको मत नपाउने निश्चित छ । यसो हुँदा लामिछाने भोलि स्वत पदमुक्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्