Logo

जसपा र एकीकृत समाजवादीका १४ भन्दा बढी सांसद एमालेमा प्रवेश गर्ने महेश बस्नेतको खुलासा (भिडियोसहित)



काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एमालेसँग एकीकरण गर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जसपाका ७ जना र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का ७ जनाभन्दा बढी सांसद समाहित भएर एमाले संसद्को सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कुरा बुझेर अहिले नै केही षड्यन्त्र गर्न सकिन्छ कि भनेर लागिपरेको टिप्पणी गरे ।

‘यस पछाडि फेरि ७६ (३) को अध्यास गर्दाखेरी एमाले ठूलो दल बन्छ भन्ने पनि उहाँलाई थाहा छ । किनभने उपेन्द्र यादवसँग विद्रोह गरेर बनेको ७ जनाको दल पनि एमालेसँग एकीकरण गर्ने सम्भावना उहाँले देख्नुभएको छ । माधव नेपालको नेकपा (एस) भन्ने दलका पनि ७ जनाभन्दा बढी सांसदले विद्रोह गरेर एमालेमा समाहित हुने कुरा उहाँले बुझ्नुभएको छ,’– नेता बस्नेतले भने ।

विश्वासको मत प्राप्त गर्न सकिँदैन र कांग्रेस–एमालेको सहकार्य तोड्न पनि सकिँदैन भन्ने ज्ञान भएर पनि प्रधानमन्त्री प्रचण्डले षड्यन्त्रको तानाबाना बुनिरहेको उनको टिप्पणी छ । प्रचण्डले जसरी भएपनि एमालेलाई कमजोर बनाउन चाहेको उनको आरोप छ ।

नेपालको कम्युनिष्ट आन्दोलनभित्र प्रचण्डले आफूलाई मदन भण्डारी पछाडिको नेता हुँ भन्ने ढंगले ब्याख्या गर्न खोजेको उनले बताए । २०६४ मा झण्डै बहुमत प्राप्त गरेको माओवादी क्षयीकरण हुँदै अहिले ५ दलको गठबन्धनबाट ३२ सिट प्राप्त गरेको स्मरण गराउँदै उनले प्रचण्ड राजनीतिको अन्तिम चरणमा रहेको दाबी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा एमाले र त्यसको नेताको रुपमा केपी शर्मा ओली स्थापित भइसकेको दाबी गरे । प्रचण्डले आफ्नो राजनीतिक करिअर र पार्टी बचाउन एमाले अध्यक्ष ओलीलाई युज एण्ड थ्रो गर्न खोजेको नेता बस्नेतको आरोप छ । उक्त कुरा बुझेर ओलीले प्रचण्डलाई साइजमा राख्न खोजेको उनले बताए ।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेकाहरुले खल्तीमा राजीनामा छ भनेर पटक–पटक जोस जाँगरसहित भाषण गरेपनि प्रचण्डको षड्यन्त्रमा अन्तिम समयसम्म पनि राजीनामा नदिएको भन्दै टिप्पणी गरे । उनले प्रचण्डलगायतले संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हिसाबले कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउन सकिन्छ कि भनेर शेखर कोइरालालगायतसँग वार्ता, छलफल गरेको र त्यो असफल भएको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्