Logo

सिमलताल दुर्घटना अपडेटः यात्रुहरुको अवस्था अझै अज्ञात, खोजी कार्य स्थगित



काठमाडौं,२८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको अवस्था अझै अज्ञात रहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले दिनभरी खोजी कार्य जारी राखेपनि यात्रुहरु फेला पार्न नसकेको हो ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २५ जना गरी ७० जना परिचालित भएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उनले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए ।

‘नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीन÷चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन,’ उनले भने ।

उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए ।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्