Logo

सोलु कांग्रेसको साम्राज्य भत्काउने मानवीरलाई रक्षा मन्त्रीको जिम्मेवारी



काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाका १ गरि २१ जना मन्त्री नियुक्त गरेका हुन् । ओलीले आफ्नो दल एमालेबाट ८ जनालाई मन्त्री बनाउँदा पहिलो पटक चुनाव जितेका सोलुखुम्बुका मानवीर राई पनि मन्त्री बन्न सफल भएका छन् ।

मानवीरले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । मानवीर तीनै नेता हुन् । जसले ३० वर्षपछि सोलुखुम्बुमा एमालेको जितको झण्डा फहराएका थिए । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले बहुचर्चित उम्मेदवार नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई हराएका थिए । लगातार सातौ पटक चुनावी मैदानमा उत्रिएका केसीलाई हारको ह्याट्रिक चखाउँदै मानवीरले एमालेबाट जिल्लाकै पहिलो सांसद बन्ने सौभाग्य पाएका थिए ।

सोलुमा बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले जित्नुबाहेक बाँकी सबै ५ निर्वाचन कांग्रेसले जित्दै आएको छ । यसर्थमा पनि सोलुलाई कांग्रेसको साम्राज्यनै मानिन्थ्यो । तर, पुस्तानान्तरणको नारासहित मैदान उत्रिएका मानवीरले कांग्रेसको त्यो गढ भत्काएसँगै पहिलो प्रयासमै मन्त्री बन्न सफल भएका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा खसेको कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मतमै सिमित रहन पुगेका थिए । सत्ता गठबन्धन दलहरू १५ हजार मतले अगाडि भइरहँदा सहज जितको अनुमान गरेर सातौँ पटक चुनावी मैदानमा उत्रिएका ७० वर्षीय केसीले अप्रत्यासित पराजय बेहोर्नु परेको थियो ।



प्रतिक्रिया दिनुहोस्