काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय दलको उपनेता तोक्ने तयारी गरेको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै उपनेता चाँडो टुंग्याउने एमालेको तयारी छ ।
एमालेले युवा नेता पदम गिरीलाई संसदीय दलको उपनेता तोक्ने तयारी गरेको छ । निवर्तमान कानून, न्याय तथा संसदीय मामिलामन्त्री रहेका गिरी एमालेका पूर्व प्रमुख सचेतकसमेत हुन् । युवा नेता साथै संसदीय राजनीतिमा प्रखर मानिने गिरीलाई उपनेता बनाएर एमालेले पार्टीमा युवाका लागि अर्को मौका दिने तयारी गरेको छ ।
एमालेमा प्रमुख सचेतक महेश बर्तौला र सचेतकमा सुनिता बराल छन् । उनीहरु दुवै युवा सांसद् हुन् । स्वर्गीय सुवासचन्द्र नेम्वाङ यसअघि एमाले संसदीय दलको उपनेता थिए । उनको ०८० भदौमा निधन भएपछि सो पद रिक्त छ ।