Logo

सिमलताल बस दुर्घटना अपडेट: बेपत्ता थप एक यात्रुको शव भेटियो, मृतकको संख्या १५ पुग्यो, अझै ४७ जना भेटिन बाँकी



काठमाडौं,१ साउन । मुग्लिन-नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज थप एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन । नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

उक्त शव सिमलताल बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।

योसँगै हालसम्म १५ यात्रुको शव फेला परेको छ भने ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

सिमलताल दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक ब्यारेजमा भेटिन थालेकाले सो क्षेत्रमा खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

दुईवटा बसमा ६५ जना यात्रु रहेकोमा तीन जना पौडिएर निस्किन सफल भएका थिए । तीनवटै सुरक्षा निकायले त्रिशूलीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजीलाई आज पनि निरन्तरता दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्