Logo

पञ्चायतदेखि गणतन्त्रसम्म २०औं पटक मन्त्री बन्दा शरतसिंह भण्डारीले के मात्र गरेनन् ?



काठमाडौं,१ साउन । देशको ४५औं प्रधानमन्त्रीको रुपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएसँगै २१ जनालाई मन्त्री नियुक्त गरेर सरकार विस्तार गरे ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीले आफ्नो दल एमालेसहित सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा)का गरि ४ दलका २१ जनालाई मन्त्री बनाएर मन्त्रिपरिषद् २२ सदस्यीय बनाएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका शरतसिंह भण्डारीको बारेमा विभिन्न टिका टिप्पणी र आलोचना भईरहेको छ । लोसपाका वरिष्ठ नेता रहेका भण्डारी ओली सरकारमा छैठौं वरियताको मन्त्री बनेका छन् ।

किन आलोचित भईरहेका छन् भण्डारी ?

श्रममन्त्री नियुक्त हुनासाथ आलोचनामा परेका भण्डारीमाथि लाग्ने पहिलो आरोप भनेको उनी मन्त्री बन्नका लागि जे पनि गर्ने गर्छन । हुनपनि भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म गरेर हालसम्म १३ पटक क्याबिनेट मन्त्री र बाँकी राज्यमन्त्री गरेर २०औं पटक मन्त्रीको कुर्सीमा पुगिसकेका छन् । उनी नेपालमा सबैभन्दा धेरैपटक मन्त्री बन्ने भाग्यमानी सांसदसमेत हुन् ।

लोसपाबाट यसपटक सरकारमा जाने सांसदको सूचीमा भण्डारी थिएनन् । लोसपाले सर्लाहीबाट निर्वाचित सांसद रामप्रकाश चौधरी र रुपन्देहीका सर्वेन्द्रनाथ शुक्लामध्ये एक जनालाई मन्त्रीमा पठाउने तयारी गरेको थियो । संघीय निर्वाचनमा राष्ट्रिय दल बन्न नसकेको लोसपामा ४ जना सांसद छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर मन्त्री नबन्ने हुँदा भण्डारी, शुक्ला र चौधरीमध्ये एक जनाले अवसर पाउने अवस्था थियो । त्यसमा पनि भण्डारी पटक-पटक मन्त्री बनेको हुँदा चौधरी र सुक्लाले अवसर पाउने आंकलन गरिएको थियो । तर, शक्ति केन्द्रदेखि पार्टी नेतृत्वसम्म रिझाउन माहिर मानिने भण्डारीले फेरि पनि मन्त्रीमा बाजी मारे ।

स्वच्छ छैन् भण्डारीको छवि

त्यसो त, २०औं पटकसम्म मन्त्रीको आसनमा पुगेपनि भण्डारीको छवि भने खासै गतिलो पाईंदैन् । मन्त्री बन्नका लाजि जे पनि गर्ने नेताको रुपमा परिचित भण्डारी पञ्चको पार्टी राप्रपादेखि कांग्रेस हुँदै मधेशवादी दलको नेता बनेका व्यक्ति हुन् । विसं २०४३ देखि हालसम्म विभिन्न मन्त्रिपरिषदमा राज्यमन्त्री र मन्त्रीगरि २० पटक जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो पटक उनी ओली मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए भने ०७९ को आम निर्वाचनपछि गठित प्रचण्ड नेतृत्वको सरकारमा पनि श्रम मन्त्रीनै थिए ।

राष्ट्रिय पञ्चायतको निर्वाचनमा ०३८ र ०४३ सालमा महोत्तरीबाट लगातार निर्वाचित भएका भण्डारी आम निर्वाचन ०४८ मा भने राप्रपाबाट उम्मेदवार बनेर पराजित भए । महोत्तरी ५ बाट ४८ को चुनाव हारेका भण्डारीले त्यसपछि भएका ०५१ को मध्यावधि र २०५६ को निर्वाचन जितेका थिए । ०५१ मा स्वतन्त्रबाट चुनाव जितेका उनी पछि नेपाली कांग्रेस प्रवेश गरे र पछि कांग्रेसबाटै ०५६ को निर्वाचन जिते । नेपाली कांग्रेस विभाजित हुँदा भण्डारी नेपाली कांग्रेस (लोकतान्त्रिक) को पक्षमा गएका थिए।

०५६ सालको निर्वाचन कांग्रेसबाट जितेपनि उनी लामो समय कांग्रेसमा टिक्न सकेनन् । फलतः ०६४ को चनावअघिनै मधेशी जनअधिकार फोरम, नेपालमा आवद्ध हुन पुगे । सो पार्टीबाट ०६४ सालको पहिलो संविधान सभा निर्वाचन लडेका भण्डारी महोत्तरी ६ मा पराजित हुन पुगे । चुनावमा पराजित भएसँगै उनले पार्टी पनि परिवर्तन गरे । दोस्रो संविधान सभा निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट महोत्तरी १ र ६ मा उम्मेदवार बनेका भण्डारी दुवै क्षेत्रमा पराजित हुन पुगे । दोस्रो संविधान सभामा दुई क्षेत्रमा पराजित भण्डारीले पछि मधेशका साना ठूला सबै शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टीमा आफ्नो दल पनि मिसाए । राजपाबाटै ०७४ सालमा भएको प्रतिनिधि सभामा महोत्तरी २ बाट निर्वाचित भए । हाल पनि उनी सोही क्षेत्रबाट सांसद छन् । तर, राजपा हुँदै फुटेको लोसपाका तर्फबाट ।

कहिले कहिले बने भण्डारी मन्त्री

पञ्चायतका मलामी भनेर चिनिने मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा स्थानीय विकास सहायकमन्त्री भएर सिंहदरबार छिरेका भण्डारी केपी ओली नेतृत्वको वर्तमान सरकारमा पनि मन्त्रीनै बनेर सिंहदरबार छिरेका छन् ।

२०४३ मा पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री बन्दै भण्डारी मन्त्रीको यात्रामा निस्किएका थिए । उनी २०४६ मा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए । त्यस्तै, १९ चैत २०४६ मा पुनः वाणिज्य राज्यमन्त्री, २७ मंसिर २०५२ मा बिनाविभागीय राज्यमन्त्री, ४ जेठ २०५३ मा बिनाविभागीय राज्यमन्त्री र २४ पुस २०५३ मा बिनाविभागीय राज्यमन्त्री बने ।

२०४६ सालको जनआन्दोलनपछिको राजनीतिक परिस्थिति भण्डारीका लागि झन् फलदायी रह्यो । पञ्चायती सरकारमा मन्त्रीको स्वाद चाखेका भण्डारीले गणतन्त्रसम्म आइपुग्दा मन्त्रालय फेरीफेरी मन्त्रीको स्वाद चाखिरहेका छन् ।

२७ असोज २०५४ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री बन्दै भण्डारी पहिलोपटक मन्त्रिपरिषद् बैठकमा जाने पूर्ण मन्त्री बनेका थिए । ११ कात्तिक २०५४ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, १८ मंसिर २०५४ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, १७ जेठ २०५६ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, १६ असार २०५६ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २७ फागुन २०५६ मा स्वास्थ्यमन्त्री, ११ साउन २०५८ मा स्वास्थ्यमन्त्री, २ कात्तिक २०५८ मै फेरि स्वास्थ्यमन्त्री बनेका थिए ।

२०६२/६३ को दोस्रो जनआन्दोलनपछि पनि भण्डारीका लागि सत्ता फलिफाप बन्यो । ११ जेठ २०६५ मा पर्यटन तथा नागरिक उड्डयनमन्त्री, २९ भदौ २०६८ मा रक्षामन्त्री, २१ जेठ २०६८ मा ऊर्जा, सिँचाइ तथा जलस्राेतमन्त्री बनेका थिए । त्यस्तै, १७ चैत २०७९ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए ।

सत्ताका लागि सधैं फलिफाप हुने पात्रका रुपमा परिचित भण्डारी बेलावखत आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिने गर्छन । एकपटक भण्डारी आफ्नै बोलीका कारण बर्खास्तीमा परेकोसमेत इतिहास पाईन्छ । ०६८ सालमा तत्कालीन प्रधानमान्त्री बाबुराम भट्टराईको पालमा रक्षामन्त्री बनेका थिए भण्डारी । रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भण्डारीले देश टुक्राउने अभिव्यक्ति दिएपछि बर्खास्त भएका थिए ।

के भनेका थिए भण्डारीले जसले गर्दा पदबाटै हात धुनपर्यो

रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै तत्कालीन रक्षामन्त्री भण्डारीले भनेका थिए ‘राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थियो ? तर जनताले रुचाएनन् र फालिदिए । तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे, संविधान, कानुनले रोक्न सक्दैन । मधेशका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन् । २२ जिल्लाका मधेशीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरी राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ ।’

ज्वाँईं गए ससुरा आए

भण्डारी श्रममन्त्री बनेर आउँदा उनको परिवारमा एउटा संयोग जुरेको छ । प्रचण्ड नेतृत्वको निवर्तमान सरकारमा उनका ज्वाँईं मन्त्री थिए । उनका ज्वाँईं मन्त्रीबाट बिदा भएपछि बनेको नयाँ सरकारमा उनी आफैं आएका छन् । निवर्तमान युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ श्रममन्त्री भण्डारीका ज्वाँईं हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता रहेका श्रेष्ठले श्रममन्त्री भण्डारीकी छोरी शृष्टिसिंह भण्डारीसँग बिवाह गरेका छ्न । त्यसो त रास्वपाकी सांसद डा चन्दा कार्की भण्डारी पनि श्रममन्त्री भण्डारीकी पारिवारिक सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्